धानको समर्थन मूल्यको कार्यान्वयन र मलको सहज आपूर्तिका लागि
किसान आन्दोलन र प्राप्त उपलब्धि
२०७९ पुस ८,
मिती २०७९ कार्तिक १६ गतेको मन्त्रीपरिषद्को बैठकले यसबर्षका लागि धानको समर्थन मुल्य निर्धारण गर्यो । निर्धारित मूल्यअनुसार मोटा धानको मुल्य रु. २९६७। र मध्यम धानको रु. ३१२८। रहेको छ । गतवर्षभन्दा मोटा धानमा प्रतिक्विन्टल २१५ रुपियाँ र मध्यम धानमा २२६ रुपियाँ बृद्धि भएको छ । लागतमूल्य र मुद्रास्फीतिका आधारमा सरकारले निर्धारण गरेको समर्थन मूल्यले किसानलाई लाभ पुग्ने अवस्था भने छैन ।
किसान आन्दोलनको दबाबका कारण सरकारले धानको समर्थन मूल्य निर्धारण गर्ने औपचारिकता पूरा गर्यो । तर मंसिरको मध्यसम्म पनि सरकारी निकायले धान खरिद प्रकृया शुरु गरेन । यस्तो अवस्थामा तत्काल किसानबाट धान खरिद प्रकृया अगाडि बढाउन र हिउँदे खेतिका लागि आवश्यक मलको व्यवस्था तत्काल गर्न विभिन्न चरणमा सरकारको ध्यानाकर्षण गराँउदै आइएको थियो । अखिल नेपाल किसान महासंघको अध्यक्ष डा. प्रेम दंगालको नेतृत्वमा रहेको राष्ट्रिय किसान आयोगको नेतृत्वले अर्थमन्त्री तथा संबन्धित निकायसंग भेटघाट, छलफल, अन्र्तक्रिया गरि ध्यानाकर्षण गरायो । सरकारले बिषय नै नबनाएको मुद्दालाई प्राथमिक मुद्दा बनाउन सहजिकरण गर्यो । तर जिम्मेबार निकायको कुनै जिम्मेवारीपन देखिएन ।
त्यसैले, अखिल नेपाल किसान महासंघले नेपाली काँग्रेस सम्बद्ध नेपाल किसान महासंघसँग आन्दोलनमा सहकार्य गर्ने वातावरण निर्माण गर्यो र दुई महासंघहरुको संयुक्त आन्दोलन संघर्ष समिति बनाई २०७९ साल मंसिर २१ गते संयुक्त पत्रकार सम्मेलन मार्फत आन्दोलनका कार्यक्रम घोषणा गर्यो । धान उत्पादनको मुख्य क्षेत्र तराईलाई लक्षित गर्दै आन्दोलन गर्ने घोषणा गरिएको थियो ।
२०७९ मंसिर २३ गते धानको समर्थन मुल्य कार्यान्वयनको माग गर्दै माइतिघर मण्डलामा धर्ना गरियो । आन्दोलनका दबावका कारण धान खरिद गर्ने निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आफ्ना प्रादेशिक, शाखा र डिपो कार्यालयहरुलाई धान खरिद गर्न पत्रचार गर्यो । तर कतै पनि धान खरिद गरिएन । त्यसकारण मंसिर २५ गते किसानले धान व्यापारीलाई सस्तो मुल्यमा बेच्नुपर्ने बाध्य बनाउने सरकारको खाद्य व्यवस्था व्यापार कम्पनीको औचित्यता नरहेको भन्दै मुख्य शाखा कार्यालयहरु (धनगढी, महेन्द्रनगर, भैरहवा, नेपालगञ्ज, विरगंज, जनकपुर, बिराटनगर, विर्तामोड) तालाबन्दी गरियो । तर पनि बर्दियाको राजापुर बाहेक अन्य कार्यालयले धान खरिद शुरु भएन ।
यस्तो अवस्थामा संयुक्त किसान संघर्ष समितिको २०७९ मंसिर २६ गते पूनः बैठक बसी आन्दोलनका दोस्रो चरणका कार्यक्रमहरु घोषणा गर्यो । संघर्ष समितिको नेतृत्व विभिन्न ठाँउ परिचालित हुने निर्णय भयो । जसअनुसार अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगाल धनगढी र महेन्द्रनगरको आन्दोलनको नेतृत्व गर्नुभएको थियो । नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमिल्सीना विरगंज जाने र आन्दोलनको नेतृत्व गर्ने गरी अन्य किसान नेताहरुलाई पनि विभिन्न जिल्लामा आन्दोलनको संयोजन गर्ने गरी खटाइयो ।
दोस्रो चरणमा जनकपुर, बिरगंज, भैरहवा, विराटनगर, विर्तामोड, धनगढी र महेन्द्रनगरमा संयुक्त किसान भेला गरी दोस्रो चरणको आन्दोलनको शुरु गरिएको थियो । पत्रकार सम्मेलन, तालाबन्दी, धर्ना प्राथमिक खरिद समितीको बैठक तथा किसानका आवाजहरुको भिडियो बनाई सामाजिक संजालमा सेयर गर्ने आदी कार्यक्रमहरु सम्पन्न गरियो । जसको दबावका कारण खाद्य तथा व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद प्रकृया शुरु गरेको छ । कम्पनीका शाखा कार्यालयहरुले सिमित मात्रामा धान खरिद गर्ने अनुमति भएकोले खरिद सिमा बढाउन आवश्यक छ । लोकतान्त्रिक गणतन्त्रको अभ्यास भएको मुलुकमा किसानहरुका समस्यालाई कुल्चिने सरकारको रबैयाका विरुद्ध वृहत किसान संघर्ष आवश्यक रहेको छ जसको नेतत्व किसान महासंघले गर्नेछ ।